नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको कथा विरलै सुन्न पाइन्छ । अन्तरलिङ्गी सम्बन्धित जानकारी पनि धेरैलाई थाहा छैन र यो हाम्रो दैनिक कुराकानीमा खासै नआउने विषयमा पर्छ । यसको मतलब यो हैन कि हाम्रो समाजमा अन्तरलिङ्गी व्यक्तिहरू छैनन् । मानव समुदाय भित्र बिबिधताका विभिन्न पक्ष भएपनि यौन बिशेषताको बिबिधता अन्तर लिङ्गी बिबिधतालाई आजको यस एक्काइसौँ शताब्दीमा पनि समाजले स्वीकार गर्न सकेको छैन । जसले गर्दा अझै पनि अन्तरलिङ्गी बिबिधता भएका व्यक्तिहरूलाई खुलेर आफ्नो बारे अरूलाई भन्न डर र त्रासले सताउँछ ।
आज अन्तरलिङ्गी जनचेतना दिवस हो र यस अवसरमा विश्व भरिनै अन्तरलिङ्गी बिबिधता भएका व्यक्तिहरुमा आवद्ध संस्थाहरुले विभिन्न कार्यक्रम गरि मनाउदै आएका छन । नेपालमा पनि क्याम्पेन फर चेन्ज को स्थापना भईसके पछि विभिन्न कार्यक्रम गरि मनाउदै आएको छ । यस बर्षको यस अवसरमा अन्तरलिङ्गी बिबिधता भएका व्यक्तिहरुको जीवन भोगाईको बारेमा समाजमा जानकारी गराउने प्रयास गरिएको छ । यसले अन्तरलिङ्गी बिबिधता भित्रको विविधतालाई बुझ्ने र जान्ने अवशर दिने छ । हामीले हालै एक अन्तरलिङ्गी व्यक्ति सँग गरेको कुराकानी यहाँहरु सामु राख्ने प्रयास गरेका छौं । उहाँको यो जीवन भोगाई सम्बन्धि यो लेख पढेर तपाईंहरु लाई अन्तरलिङ्गी व्यक्ति बारे थोरै भएपनि सहि बुझाई हुने छ भन्ने आशा राखेका छौं ।
आफ्नो जीवन भोगाई हामीलाई बताउनु भएको मा सर्वप्रथम उहाँलाई धन्यबाद दिन चाहन्छौं । उहाँको नाम राधिका (नाम परिवर्तित) उहाँले आफूलाई महिला लैङ्गिक पहिचानको रुपमा पहिचान गर्नुहुन्छ ।
सायद मानिसलाई स्वतन्त्र भएर हेरिने समय भनेकै बाल्यकाल हो । कुनै पनि बच्चालाई महिला हुने, पुरुष हुने वा नहुने कुनै पनि प्रकारको दबाब हुदैन । बाल्यकालमा हामी सबै भन्दा खुलेर जिउछौ । राधिका जी को पनि प्यारो र सुन्दर बाल्यकाल रहेको छ । बि.स. २०३७ साल को जन्म उहाँको मावालीघरको हजुरआमा सँगै हुर्किन पाएकोले उहाँलाई सबै भन्दा माया अजीले (हजुरआमा) गर्नु हुनुहुन्थ्यो रे । बेलुका गोठालो गएर आउँदा खेरी अजिले गाईको दूध सँग मुछेर राखिदिनु भएको खाना उहाँलाई एकदम मिठो लाग्थ्यो । अजिको माया पाएर र स्कूल जान पाएर उहाँ रमाउँदै हुर्किनु भयो । तर उहाँ ८ वर्ष हो हुँदा उहाँकी अजीको निधन भयो । १०-१२ वर्षको उमेर पुग्न थालेपछि उहाँको शारीरिक विकास समाजले अपेक्षा गरेको महिलाको अनुसार नभए पछि उहाँको बारेमा समाजका मान्छेले कुरा काट्ने काम उहाँको उमेर सँगै बढ्दै गयो । महिनावारी र शारीरिक बनावटलाई लिएर उहाँमाथि सधैँँ सबैले प्रश्न गर्थे । उहाँको नामलाई बिर्सेझै गरी घर गाउँलेहरुले मनमर्जी उपनामहरु दिएर बोलाउन थाले । उहाँले त्यो उपनाम भन्न पनि चाहनु भएन । उहाँको अफ्ठेरो पनलाई नबढाउँदै, उहाँले नराम्रो नामहरू LGBTI लाई भन्छन नि भन्दा आफूले कुरा बुझेको भने । हुन पनि यी नराम्रा नामहरु हाम्रो बोलीचालीबाट हराउँदै जानु नै हाम्रो समाज अघि बढ्नुको चिन्ह हो ।
यस्तै नराम्रा नाम, अप्ठ्यारो प्रश्न, अनि आफू बारे आफ्नै मनमा भएका अनगिन्ती उलझनहरु र गरिबी कै कारण उहाँले एस.एल.सी पछि गाउँ देखी टाढा गएर बाकी पढाइ गर्न पाउनु भएन । उहाँको राम्रो जागिर (नेपाल पुलिसमा) गर्ने सपना सधैँ सपना नै रहयो । सबै दिदी बहिनी, साथी सँगीनिहरुको बिहे गरेर गएपछि, राम्रो श्रीमान् पाएर अरू जस्तै रमाउने सपना उहाँको आज सम्म पनि सफल भएको छैन । उहाँ भन्नु हुन्छ, “हाम्रो समाजको रुढीवादी सोचहरु जस्तै बच्चा जन्माउन नसक्ने छोरी मान्छे लाई अल्क्षिणी भन्ने, विवाह भनेकै बच्चा जन्माउनलाई गर्ने प्रथा । अहिले त धेरै कुराहरु परिवर्तन भएको छन् तर त्यही भ्रममा मैले उमेरमा केही गर्नै सकिन ।” अहिले उहाँ ८४ वर्षको आमा सँग बस्नु हुन्छ। विवाह गर्नै पर्छ भन्ने त छैन तर ४० बर्ष भन्दा बढी भएपनि भविष्यमा मन मिल्ने कोही भए कसैलाई जीवन साथी बनाउने सोच चाहिं अझै छ।
राधिका जी लाई रेडियो ले आफ्नो जिज्ञासाहरु सुल्जाउन धेरै मदत गरेको थियो । उहाँले साथी सँग मनका कुरा र अरू थुप्रै LGBTI सम्बन्धी विभिन्न कार्यक्रमहरु सुनेर आफ्नो बारे जान्ने कोसिस गर्नु हुन्थ्यो । त्यो समय मोबाइल फोन त्यति प्रचलन नभएकाले रेडियोनै उहाँको साथी बन्न पुग्यो र एकदिन उहाँले हिम्मत गरेर LGBTI का लागि काम गर्ने संस्थालाई सम्पर्क गर्नु भयो । आफू अन्तरलिङ्गी भएको बारे त्यही संस्थाको व्यक्ति सँग कुरा गरेर प्रष्ट हुनु भयो र आफू बाहेक अरु अन्तरलिङ्गी ब्यक्तिहरु भेट्न पाउनुभयो । जसले गर्दा उहाँलाई खुलेर जिउन, आफ्नो बारे कुरा गर्ने एउटा ठाउँ पाउनुभयो । उहाँले त्यही संस्थामा कामपनि गर्न थाल्नुभयो । कामको लागि फिल्ड भिजिटमा जाँदा उहाँलाई धेरैले अनौठो पाराले हेर्ने अनि तिमी कस्तो मान्छे हो ? भनेर प्रश्न गर्थे । तर तब भने उहाँले आफूलाई थाहा भएको जानकारी दिने र अन्तरलिङ्गीको बारेमा अरुलाई जानकारी दिनुहुन्थ्यो । त्यहि संस्थामा LGBTI को लागि काम गर्ने आशा लिएर उहाँ पहाड घर छोडेर तराई बसाई सर्नु भयो । लगभग ८ वर्ष उहाँले त्यो संस्थामा काम पनि गर्नु भयो। २ वर्ष अघि अफिस बाट घर फर्किने क्रममा उहाँको दुर्घटना भयो । त्यो घटना पछी उहाँलाई सन्चो भएपछि बोलाउने आशा दिए तर पछि फर्किएर जाँदा उहाँले गरिरहेको काम त्यस संस्थाका मान्छेले उहाँलाई गर्न सक्दैनौ भनेर जागिर बाट निकालिदियो । त्यस संस्थामा काम गर्नु अघि पहाडमै पनि स्कुलमा कार्यालय सहयोगी पदमा जागिर खुल्दा उहाँले फारम भर्नु भएको थियो । उनीहरुले उहाँलाई कामको शिलसिलामा बाहिर जानु पर्छ। यस्ता मान्छेको भर हुदैन भनेर जागिर दिएनन । “यस्तै विभेद र तिरस्कारहरुले नै हो हामी पढ्ने ठाउँ, काम गर्ने ठाउँमा अन्तरलिङ्गीव्यक्ति भेटाउन गार्हो हुने । जसले गर्दा अन्तरलिङ्गी व्यक्तिहरु समाजमा कम देखिनछन् र उहाँहरूको क्षमता विकास हुने अवसर घट्दै जान्छ ।”
राधिका जी अहिले बसने ठाउँ नजिकै पनि कोहि अरु अन्तरलिङ्गी व्यक्तिहरु छन् रे तर उनिहरु खासै बाहिर आएर बोल्न चाहादैनन्, अरुले थाहा नपाओस भन्छन् । राधिका जी ले केहि समय देखि लगातार सम्पर्क गर्दै उनीहरु सँग काहिले कहीँ आफ्नो बारे कुरा गर्न संस्था सँग सम्पर्क गराउने काम गर्नुहुन्छ । नेपालमा LGBTIQ को लागि काम गर्ने विभिन्न गैर सरकारी संस्थाहरु छन् । यी संस्थाहरु तपाईको गोपनियेताको सम्मान गर्ने , सुरक्षा गर्ने, तपाईको समस्याको लागि आवाज उठाउने एउटा अत्यन्तै महत्वपुर्ण ठाउँ हुन् । तपाई आफ्नो लागि सजिलो हुने संस्था अफै खोज्नु र संस्थाको कामहरु बारे बुझ्नु भयो भने, संस्था र तपाई दुबैको लागि अवसर मिल्न सक्छ । राधिका जी ले पनि यस्तै समुदायका व्यक्तिहरुको लागि काम गर्ने संस्थामा आवद्ध भएपछि, अरु अन्तरलिङ्गी व्यक्तिहरुलाई भेटे पछि उहाँलाई आफ्नो बारेमा अझै बढी बुझ्ने मौका पाउनु भएको छ ।
अहिले उहाँ अन्तरलिङ्गी व्यक्तिहरुको लागि काम गर्ने एक मात्र संस्ठा क्याम्पेन फर चेन्ज को सहयोगमा सिलाई कटाई र सजावटको समान बनाउने तालिम लिईरहनु भएको छ । केहि आर्थिक सहयोग पाएर आफ्नो तालिम पुरा गरेर आफ्नै सानो व्यवसाय संचालन गर्ने उहाँको अहिलेको लक्ष्य रहेको छ । तर बुढेसकाललाई लिएर उहाँको चिन्ता अझै बढदो छ । परिवारको सहानुभुतिले गर्दा उहाँले अझै पनि आमाको सहारामा बस्न पाउनु भएको छ तर आमाको शेख पछि, आफ्नो शारीरिक अवस्था कमजोर भए पछि आफ्नो अवस्था के होला ? कसले साहारा देला ? भन्ने कुराले उहाँलाई पिरोली रहन्छ । उहाँ भन्नुहुन्छ,“राज्यले अन्तरलिङ्गी व्यक्तिको लागि सीपमूलक तालिम, योग्यता र क्षमता भएका अन्तरलिङ्गी व्यक्तिहरुलाई रोजगारीको अवसर दिन सकेको खण्डमा अन्तरलिङ्गी बिबिधता भएका व्यक्तिहरु पनि आत्मनिर्भर भएर समाजमा आत्म सम्मानका साथ् बाच्न सक्छन् । हामीले समाजमा विभिन्न किसिमका अपहेलना, दुर्व्यवहार, र यातना भोगी रहेका छौं । हामीले अझै पनि सहज रुपमा न्याय पाउने वातावरण बन्न सकेको छैन यसको लागि राज्यले नै अन्तरलिङ्गी व्यक्तिहरुको मानव अधिकारको संरक्षण र प्रवर्धनको लागि उचित कानुन संयन्त्र निर्माण गरि लागु गर्नु पर्दछ ।”
कोभिड महामारीमा अन्तरलिङ्गी व्यक्तिहरुले कुनै पनि सरकारी तथा गैह्र सरकारी संस्थाबाट कुनै किसिमको राहत पाएनन | तर क्याम्पेन फर चेन्जको आफ्नै पहलमा साह्रै समस्या परेका अन्तरलिङ्गी व्यक्तिहरुलाई सानो राहत सहयोग गरेको थियो । राधिका जी भन्नु हुन्छ “नेपाल मा विभिन्न किसिमको प्राकृतिक प्रकोप हुन्छ । यस्तो प्रकोपमा अन्तरलिङ्गी व्यक्तिहरु पनि सबै भन्दा जोखिममा पर्ने समुहमा पर्छन तर कहिले पनि हामीले कुनै पनि संस्था तथा निकायबाट कुनै पनि किसिमको सहयोग पाउदैनौ तर यस पटकको कोभिड महामारीमा क्याम्पेन फर चेन्ज संस्थाका कारणले अन्तरलिङ्गी व्यक्तिहरुले पहिलो पटक सहयोग पायौं ।”
उहाँ शिक्षाको अभावले नै आफु आत्म निर्भर हुन नसकेको कुरा बताउनु हुन्छ । धेरै परिवारले समाजको डरले आफ्नो अन्तरलिङ्गी बच्चाहरुलाई पूर्ण शिक्षा दिदैनन् । कतिलाई घर बाट तिरस्कार हुनु पर्छ र आफ्नो जीवन अभाबमा जिउन बाध्य हुन्छन् । समाजमा सचेतना कै कमीले गर्दा धेरैले विभेद, लान्छना र हिंसा सहनु परेको छ । हामी विभिन्न प्रविधिको र विकासको समयमा छौं । संचार प्रविधिको विकासले मानिसहरुले थुप्रै कुराको जानकारी तथा ज्ञानको पहुँचमा छन् । त्यसैले आफुलाई थाह नभएको कुरा, विभेद, लान्छना र हिंसा बारे सम्बन्धित निकायबाट बुझौ र कुनै पनि विविधताको करणले कसैलाई पनि लान्छना र विभेद नगरौं । प्रकृति आफैमा बिबिधताले भरिएको छ र यसले नै प्रकृतिलाई सुन्दर र सम्पन्न बनाउँछ । हामी पनि सभ्य समाज बनाउन हामी बिचको बिबिधताको र हरेक व्यक्तिले समाजमा आत्म सम्मानका साथ् बाच्न पाउने हकको सम्मान गरौँ ।