राष्ट्रिय अन्तरलिङ्गी मागपत्र

राष्ट्रिय अन्तरलिङ्गी मागपत्र

अन्तरलिङ्गी व्यक्तिहरूको लैङ्गिक पहिचानको मान्यता र त्यस सम्बन्धी कानुन तथा नीतिमा अत्यावश्यक व्यवस्थाहरू सम्बधी सात बुँदे मागपत्र


पुलिङ्गी व स्त्रीलिङ्गी शरीरका परम्परागत अवधारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) भएका व्यक्तिहरू अन्तरलिङ्गी (Intersex) व्यक्तिहरू हुन् । परम्परागत अवधारणमा पुलिङ्गी वा स्त्रीलिङ्गी शारिर बाहेकका शारीरिक विविधताको व्यापकतालाई व्याख्या गर्ने शब्द ‘अन्तरलिङ्गी’ हो । केही अवस्थाहरूमा अन्तरलिङ्गी गुणहरू जन्मने बित्तिकै देखिन्छ भने केही अन्तरलिङ्गी गुणहरू किशोरावस्थामा मात्र देखिन्छ र केही अन्तरलिङ्गी गुणसुत्र विविधता भने शारीरिक रूपमा देखा नपर्न पनि सक्छ ।
अन्तरलिङ्गी हुनु यौन विशेषताको प्रकार/विविधता हो । अन्तरलिङ्गी व्यक्तिहरूको लैङ्गिक पहिचान महिला, पुरुष, गैर-द्वयसांखिक, इत्यादी हुन सक्छ भने यौन अभिमुखिकरण विषमयौनिक, समयौनिक, द्वियौनिक, सर्वयौनिक, अयौनिक, इत्यादी हुन सक्छन् ।
यो परिभाषा संयुक्त राष्ट्र संघबाट प्रतिपादित, अन्तर्राष्ट्रिय व्यापकता रहेको र नेपाल लगायत विश्वका अन्तरलिङ्गी संघ, संस्था, संजाल, समूह एवं व्यक्तिहरूले प्रयोग गर्दै आएका छौँ ।

मागहरू :

१) अन्तरलिङ्गी शिशुहरूलाई आफ्नो लिंगको महमा ‘अन्तरलिङ्गी’ उल्लेख गरी जन्मदर्ता गराइनुपर्छ र अन्तरलिङ्गी यौन विशेषता भएकै आधारमा जन्मदर्ताको अधिकार नामको अधिकारबाट वञ्चित गराइनु हुँदैन । यद्यपि आफ्नो लैङ्गिक पहिचान यकीन भएपछि अन्तरलिङ्गी व्यक्तिहरूले आफ्नो स्वःअनुभूतीको लैङ्गिक पहिचान अनुसार महिला (Female), पुरुष (Male) वा गैर-द्वयसांखिक (Non-binary) भनेर लिंगको महलमा उल्लेख गर्न पाउने व्यवस्था हुनुपर्दछ ।

२) कतिपय अन्तरलिङ्गी व्यक्तिहरूलाई जन्मँदा यौनाङ्गको आधारमा “अन्य”, “अस्पष्ट”, “अन्तरलिङ्गी” वा अरु केही इङ्गित गरिएको हुन सक्छ भने कतिपय अन्तरलिङ्गी व्यक्तिहरूलाई अभिभावकको इच्छा अनुसार “महिला” वा “पुरुष” पनि इङ्गित गरिएको हुन सक्छ । यही इङ्गन अनुसार एवं अविभावक/संरक्षकले दिएको नाम अनुसार कागजपत्र गराइन्छ । अन्तरलिङ्गी व्यक्तिहरूमा आफ्नो लैङ्गिक अनुभूतीको स्वःचेतना आइसकेपछि नीजलाई जन्मँदा इङ्गित गरिएको लिंगको महलमा उल्लेख गरिए अनुसार नीजको स्वःअनुभूतीको लैङ्गिक पहिचान नभएमा आफ्नो स्वःअनुभूतीको लैङ्गिक पहिचान बमोजिम नाम र लिङ्ग परिवर्तन गर्न पाउने व्यवस्था हुनुपर्दछ ।

३) कुनै पनि व्यक्तिले आफ्नो स्व:अनुभूती अनुसारको लैङ्गिक पहिचान हासिल गर्नु निजको नितान्त वैयक्तिक आत्मनिर्णयको अधिकार अन्तर्गतको विषय हो जसलाई अरु व्यक्ति, समाज, राज्य वा कानूनले निर्धारण गरिदिनु मिल्दैन । लिंगको महल र नाम परिवर्तन गर्नका निम्ति आत्मनिर्णयस्वःपहिचान आधार मानिने सरल प्रकृया व्यवस्था बनाउनुपर्दछ ।

४) अन्तरलिङ्गी व्यक्तिहरूलाई आफ्नो स्वःअनुभूतीको लैङ्गिक पहिचान अनुसारकै भाषा र शब्दावलीहरूले सम्बोधन गर्ने र त्यही अनुसारको लिङ्गको महलमा समावेश गरिनुपर्दछ ।

५) अन्तरलिङ्गी व्यक्तिहरूको आफ्नो यौन विशेषता र त्यस सम्बन्धीका व्यक्तिगत विवरणहरूमा गोपनियताको हक सुनिश्चित गर्नुपर्दछ भने डाटा गोपनियता एवं वैयक्तिक लैङ्गिक इतिहासका विषयमा रहेका अभिलेखहरूमा पनि गोपनियताको सुनिश्चितता हुनुपर्दछ ।

६) कुनै पनि व्यक्तिले आफ्नो लैङ्गिक पहिचान अनुसारको परिचयपत्र पाउनका निम्ति नीजलाई आफ्नो आत्मसम्मान र प्रतिष्ठामा आँच आउने, नीजको अरु मानव अधिकार हनन तथा उल्लंघन हुने, नीजको शारीरिक निष्ठामा खलल पुर्याउने, वा नीजको जीउ ज्यानमा अनुत्क्रमीय (irreversible) क्षती पुर्याउने र नीजको आफ्नो जीवन प्रतिको आत्मनिर्णय र वैयक्तिक स्वतन्त्रताको अतिक्रमण गर्ने प्रकारका सर्तहरू राखिनुहुन्न र त्यस्ता मापदण्डहरू पालना गर्न बाध्य तुल्याउनु हुँदैन । यस्ता व्यवस्थात्मक मापदण्ड मात्र नभएर व्यवहारिकतामा पनि अनावश्यक प्रश्न सोध्ने, दुर्व्यवहारपूर्ण अपमानजनक प्रश्न सोध्ने, मौखिक दुर्व्यवहार वा कुनै किसिमको अन्तरलिङ्गी-द्वेषी व्यवहार गर्नुहुँदैन । यसमा नेपाल सरकारका हरेक निकायका सबै अधिकारी तथा कर्मचारीहरूले अन्तरलिङ्गी व्यक्तिहरू लगायत विविध लैङ्गिकता र यौनिकता सम्बन्धी आफूलाई शिक्षित बनाउनका निम्ति सरकारले पहल गर्नुपर्छ ।

७) हामी अन्तरलिङ्गी व्यक्तिहरूलाई बाध्यकारी एवं अनिच्छापूर्ण हिसाबले ‘अन्यलिङ्गी’ वा लिंगको महमा ‘अन्य’ उल्लेख गर्न पर्ने दमनकारी प्रावधानहरूको विरोध गर्दछौँ । यसरी अन्तरलिङ्गी भएकै कारण स्वःअनुभूतीको लैङ्गिक पहिचानको हकबाट वञ्चित गर्ने र बाध्यकारी एवं अनिच्छापूर्ण ‘अन्यलिङ्गी’को प्रावधान खारेज गरिनुपर्दछ ।

अन्तरलिङ्गी व्यक्तिहरूले शिक्षा, स्वास्थ्य, रोजगार, लगायतका हरेक क्षेत्रमा विभेद, हिंसा र लाञ्छना भोग्दै आएका छन् । यस माथी राज्यले बनाउने असंवेदनशील असमावेशी ऐन कानुन नीति नियमका कारण ती विभेद, लाञ्छना र हिंसा अझै सबल हुन्छ । अन्तरलिङ्गी व्यक्तिहरूका विविध समस्या, मुद्दाहरू तथा विषयहरूमा यस मागपत्रले “लैङ्गिक पहिचानको कानुनी मान्यता” (Legal recognition of gender identity) को विषय उठाएको छ । यस मागपत्रमा उल्लेख विषयहरू लैङ्गिक पहिचानको मान्यता सम्बन्धी अन्तरलिङ्गी व्यक्तिहरूको विश्वव्यापी आन्दोलनका विषयवस्तु अनुरूप नै छन् ।
नेपालको एक मात्र अन्तरलिङ्गी व्यक्तिहरूको नेतृत्वमा रही अन्तरलिङ्गी व्यक्तिहरूको हकहितका निम्ति कार्यरत क्याम्पेन फर चेन्जले धेरै वर्ष देखि विभिन्न माध्यम र उपलक्षमा गरिएको छलफल तथा तेस्रो राष्ट्रिय अन्तरलिङ्गी कार्यशाला गोष्ठी (२०७६ कार्तिक २८ देखि ३०, १४ देखि १६ नोभेम्बर २०१९) पश्चात् मागपत्रको अवधारणा अघि सरी कार्य अघि बढेको र २६ अक्टोबर २०२० – अन्तरलिङ्गी जनचेतना दिवसमा सार्वजनिक गरिएको हो ।

शुभम् २०७७ कार्तिक १० गते


Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: